चितवन । पाँच दलीय गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालसँगै भरतपुरको मेयर पदका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका नेकपा एमालेका नेता विजय सुवेदीले १० हजार मत कटाएका छन्। बुधबार रातिसम्ममा गणना भएको मतअनुसार उनले १० हजार २०० मत पाएका छन्। यो भरतपुरको ६ वटा वडाको गणना भइसकेको र ७ र ८ नम्बर वडा गन्दै गर्दाको मत संख्या हो। प्रतिशतमा हेर्दा कुल गणना भएको मतमा सुवेदीले २९.८४ प्रतिशत मत पाएका छन्।
सोही अवधिमा गठबन्धनकी रेनु दाहालले भने १२७२९ मत पाएकी छन्। प्रतिशतमा हेर्दा दाहालले ३७.२४ प्रतिशत मत पाएकी छन्। रेनु दाहालको मत जति बढ्दै गएको छ, सुवेदीको मत त्यति नै कम हुँदै गइरहेको छ। यसले रेनु दाहाललाई जितको नजिक पुर्याउन सहयोग मिलिरहेको छ भने सुवेदीलाई चुनौति। हालसम्मको मत परिणाम हेर्दा सुवेदीभन्दा दाहाल २५२९ मतले अगाडि छिन्।
हुन त नेकपा एमालेको लागि आधार क्षेत्र मानिएको भरतपुरको सबैभन्दा धेरै मतदाता रहेको वडा नम्बर ११ र १२ लगायतका केही वडा बाँकी नै छन्। त्यतिञ्जेलसम्म मतको दर घटाउन सकिने सुवेदीको अपेक्षा छ। तर दाहालले भने ती वडाहरुमा पनि आफूले नै बढी मत पाउने बताइरहेकी छन्। सँगसँगै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले समेत ५४८१ मत पाएका छन्। प्रतिशतमा हेर्दा १६.०४ प्रतिशत मत भुइँकटहरले पाएको देखिन्छ।


























