चितवन । गीताकुमारी गुरुङ इच्छाकामना गाउँपालिकामा पराजित भएपछि नेपाली कांग्रेसबाट असन्तुष्ट पक्षमा गनिएका नेता शम्भु अर्यालले सुझावसहितको चिठी लेखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्रका केही अवगुणका कारण जित्ने निर्वाचनमा पनि हार्नुपर्ने भन्दै असफलता नै सफलताको जननी हो भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात् गर्नसमेत आग्रह गरेका छन्।
चितवनमा पार्टीको निर्णयविरुद्ध लागेको भन्दै उनी कारवाहीमा समेत परिसकेका छन्। उनी भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको पक्षमा उभिएका छन्। नेपाल तरुण दल चितवनका संस्थापक अध्यक्षसमेत रहेका नेता अर्यालले लेखेको चिठी जस्ताको त्यस्तैः
बैनी गीता ! आज म स्तब्ध भएको छु। इच्छाकामनाको चुनावी परिणामलाई हेरेर। राम्रो काम गर्दागर्दै, जनताले चाहँदाचाहँदै पनि निर्वाचन हार्नुपर्दो रहेछ। कुनै पनि शासनप्रणालीमा धेरै थोरै अवगुण अवश्य हुन्छन्। प्रजातान्त्रिक शासन प्रणाली पनि अछुतो रहन सक्दैन। त्यसैले राम्रा व्यक्ति हार्ने र हाम्रा व्यक्ति जित्ने कुरा कुनै नौलो होइन, जसलाई तिमीले हाम्रो भन्यौ त्यस्ले तिमीलाई राम्रो भनेन। त्यसैको प्रतिफल आज तिमीले भोग्नु परेको छ भने कांग्रेसले व्यहोर्नु परेको छ।
जेहोस् धैर्य गर्न सक्ने आँट र समस्यासँग लड्न सक्ने क्षमता तिमीमा नभएर मैले सिकाएको पनि होइन, म ठूलो मान्छे भएर तिमीलाई उपदेश दिन लागेको पनि नसम्झ। जेहोस् ‘सफलता नै सफलताको जननी हो’ भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गर. निर्वाचन अर्कोपटक पनि आउँछ भन्ने कुरालाई मनन गर्दै हारको दोष अरुलाई थोपर्ने काम नगर। किनकी तिमी हारेको भन्दा पनि इच्छाकामनामा कांग्रेस हारेको सबैले स्वीकार गरेका छन्।
यस्को जिम्मा तिमी सदस्य भएको पार्टीले लिनैपर्छ। नत्र दलीय राजनीति पद्धतिको अर्थै भएन। पार्टी धानेर गाउँमा बसेका कार्यकर्ताको राय, सल्लाह सुझाव विपरित निर्णय गर्ने अनि मानेन भनेर उल्टै कार्वाहीको डण्डा चलाउने? यो प्रवृत्तिको विरुद्ध हाम्रो अभियान।
जय नेपाल !!
दाजु शम्भु अर्याल।
गीताकुमारी गुरुङले भने आफूले चुनावी परिणाममा हार व्यहोरे पनि इच्छाकामनाकै विकास र योगदानमा लाग्ने प्रतिवद्धता जनाएकी छन्। आफू जन्मेहुर्केको ठाउँको विकास र समृद्धिको लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको उनले बताइन्। जनतामुखी काम गर्न विगत पाँच वर्षको अनुभवले पनि धेरै कुरा सिकाएको उनले बताइन्।
Facebook Comments