चितवन । इच्छाकामना गाउँपालिकामा गठबन्धन दल नराम्रोसँग बढारिएको छ। पाँच दलीय गठबन्धनले गरेको अपेक्षाविपरीत मतपरिणाम आएपछि अन्तर्घात भएको भन्दै नेतत्व तहको आलोचना हुन थालेको छ। विशेष गरी नेपाली कांग्रेस इच्छाकामना गाउँपालिका सभापति कृतिकुमार श्रेष्ठ र नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँकमिटी अध्यक्ष हरि थापामाथि आफ्नै उमेदवारविरुद्ध लागेको आरोप लागेको छ। कतिसम्म भने माओवादीका नेता थापाले उमेदवार टिकट वितरणमा आफूअनुकूल नभएपछि सूर्य चिन्हलाई भोट माग्दै हिँडेका आफ्नै पार्टी स्रोत बताउँछ।
कांग्रेसका गाउँपालिका सभापति श्रेष्ठ भने यसअघि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष हुन्। तर एउटै पार्टीबाट गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष भए पनि अध्यक्ष गीताकुमारी गुरुङलाई पाँच वर्षे कार्यकालभरी असहयोग मात्रै गरेका कुरा छरपस्ट भएकै कुरा हो। यो विषयमा पार्टीको जिल्ला तहले समेत वास्ता नगरेको आरोप लागेको थियो।
पार्टीभित्रको असन्तुष्टी र गुट-उपगुटका कारण गठबन्धन भएर पनि पराजय भोग्नु परेको गठबन्धन दलका कार्यकर्ताहरु नै बताउँछन्। २०७४ को स्थानीय तह निर्वाचनमा सबै दल एकल निर्वाचनमा होमिएका थिए।
बुधबार मतगणना सम्पन्न भएको गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेका दानबहादुर गुरुङ र उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल निर्वाचित भइन्। गुरुङले १५०२ मतअन्तरले निर्वाचन जितेका हुन्। उनले ६११० मत ल्याउँदा अध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले जम्मा ४६०८ मत पाइन्।
उपाध्यक्ष पदमा पनि नेकपा एमालेकी सिलवालले गठबन्धन दलबाट उमेदवार बनेका माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतअन्तरले पराजित गराएकी हुन्। सिलवालले ५३४४ मत ल्याउँदा गुरुङले जम्मा ५४४ मत प्राप्त गरे।
वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तबहादुर रानामगर र नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ७ मा बमबहादुर थापामगर बिजयी भए। बाँकी सबै वडामा नेकपा एमालेले जित हात पार्यो। कुल सात वटा वडा रहेको इच्छाकामनामा जम्मा १२००४ मत खसेको थियो।


























