चितवन । बुक हिल प्रकाशन गृहका अध्यक्ष एवम् सञ्चालक भूपेन्द्र खड्का र व्यङ्ग्य कवि अर्जुन पराजुलीले एकार्कालाई चोरको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका निर्वाचनसम्बन्धी व्यङ्ग्य कविताको विषयमा दुवैले आफ्नो सिर्जना भएको दाबी गर्दै आरोप/प्रत्यारोपमा उत्रिएका हुन्। कवि पराजुलीले बुधबार बिहानै फेसबुकमा उक्त कविता साझा गरेका थिए। तर त्यसैलाई साझा गर्दै सर्जक एवम् प्रकाशक खड्काले पराजुलीमाथि आफूले ९ वर्षअघि लेखेको स्टाटस अर्जुन पराजुलीले चोरेको आरोप लगाएपछि सामाजिक सञ्जालमै पक्ष/विपक्ष भएर वादविवाद चलिरहेको छ।
प्रतिकृयामा अर्जुन पराजुलीले आफूले २५ वर्षअगाडि लेखेको र लगातार मञ्चमा पढ्दै आएको दाबी गरेका छन्। ‘आदरणीय मित्रहरू भ्रममा नपर्नुहेला। यो कविता मैले आजभन्दा करिब २५ वर्षअगाडि लेखेको हुँ। र, लगातार मञ्चमा पढ्दै आएको छु। मलाई लाग्छ यो स्टाटस मेरो कविताको कपि हो।अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ। मलाई चोर बनाउनेको विरूद्दमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु,’ पराजुलीले प्रतिकृया दिँदै भनेका छन्।