चितवन । नेपाली कांग्रेसबाट असन्तुष्ट बनेपछि स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले मतान्तर बढाउँदै लगेका छन्। जितको सम्भावना नरहे पनि भरतपुरको ५ वटा वडाको मत गणना हुँदै गर्दा उनले आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लैजान सफल भएका हुन्। मत गणनाको शुरुवाती चरणदेखि नै तेस्रो स्थान जमाएका उनी माथि उक्लन नसके पनि तल झरेका छैनन्।
हालसम्मको मतपरिणाम हेर्ने हो भने जगन्नाथ पौडेलले तीन हजार ६ मत प्राप्त गरिसकेका छन्। यो संख्या कुल गणना भएको मतको १६.२९ प्रतिशत हो। पौडेलको मत सबैभन्दा कम हुँदा पनि ११ प्रतिशतभन्दा तल झरेको छैन। उनीभन्दा अगाडि रहेका एमालेका विजय सुवेदी र माओवादी केन्द्रकी रेनु दाहाल भने अगाडि र पछाडि हुँदै अगाडि बढिरहेका छन्।
भरतपुरमा पाँच वटा वडाको मतगणना सकिँदै गर्दा रेनु दाहाल केही मतका साथ अगाडि छिन्। उनले ६१७० मत ल्याएकी छन् भने विजय सुवेदीले ६०८० मत ल्याएका छन्। प्रतिशतमा हेर्दा दाहालले ३३.४५ प्रतिशत र सुवेदीले ३२.९६ प्रतिशत मत ल्याएका छन्। यी दुवैजना ठूलो दलबलसहित लागे पनि जगन्नाथ पौडेलको उपस्थितिले दुवैजनालाई चुनौति दिइरहेको छ।
२७ जनाले भरतपुरको मेयरमा उमेदवारी दिए पनि केन्द्रमा भने शुरुवातदेखि नै यी तीन जनाको मात्रै उपस्थिति देखिएको छ। अन्यको मत नगन्य बनेको छ। तर माओवादी र एमालेका उमेदवारलाई भने स्वतन्त्रका पौडेल नै टाउको दुखाइको विषय बनेको छ, किनकि जगन्नाथ पौडेलकै कारण प्रतिष्पर्धामा रहेका दाहाल र सुवेदीको मतान्तर धेरै हुन सकेको छैन।


























