चितवन । प्रचण्डपुत्री रेनु दाहाल र नेकपा एमालेका प्रभावशाली नेता विजय सुवेदीबीचको घमासान भिडन्त भइरहेको भरतपुरमा रोकिएको मतगणना पुनः शुरु भएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको कार्यशैलीप्रति असन्तुष्ट बनेपछि रोकिएको मतगणना कार्य सर्वदलीय बैठकबाट समस्या समाधान गरेपछि पुनः गणना कार्यलय निरन्तरता पाएको हो।
सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने निर्णय भएपछि मतगणना शुरु गरिएको हो। साथै यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे पनि सहमति भएको छ। यस विषयमा प्रमुख जिल्ला अधिकारी तामाङले गल्ती स्वीकार्दै माफी मागेपछि वातावरण सहज बनेको हो।
सदर-बदर मत एकीन गर्ने विधि समान नभएको भन्दै एमालेले पटक-पटक विरोध जनाउँदै आएको छ। यसअघि पनि महानगरकै ४ नम्बर वडा बाहेक १ र २ नम्बर वडाको मतगणनाका क्रममा समेत विरोध जनाउँदा गणना रोकिएको थियो।
यो महासंग्राममा अन्तिम नतिजाअनुसार रेनु दाहालले ५३८२ मत ल्याउँदा विजय सुवेदीले भने ५३६७ मत प्राप्त गरेका छन्। यी दुई प्रतिष्पर्धीबीच निकै रोमाञ्चक शैलीमा लुकामारी खेल चलिरहेको छ। दुवैजना कहिले को अगाडि त कहिले को अगाडि भइरहेका छन्।
दुवैजनाको पछिपछि दौडिइरहेका जगन्नाथ पौडेलले पनि २५७७ मत ल्याएर आफूलाई तेस्रो प्रतिष्पर्धी सावित गरिरहेका छन्।