चितवन । नारायणगढ बजार क्षेत्रको पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फको बजारी क्षेत्र वडा नम्बर ३ मा पर्छ, जसलाई कांग्रेसले आफ्नो सबैभन्दा राम्रो वडा मान्दै आएको थियो। तर, त्यही वडा कांग्रेसले गुमाउन पुगेको छ, त्यो पनि भारी मतान्तरले। कांग्रेसले आफ्नो आधार क्षेत्र गुमाउनुमा सबैभन्दा ठूलो हात भने कांग्रेसकै छ। वडाको टिकट मिलाउन बसेका क्षेत्रीय सभापति भरत लामिछानेको कार्यशैलीकै कारण असन्तुष्ट बनेका कार्यकर्ताले मेयर र उपमेयरमा गठबन्धनलाई मत दिए पनि वडा अध्यक्ष नै हराइदिएका हुन्।
पार्टीको जिल्ला समितिले समेत यो कुरालाई स्वीकार गरिसकेको छ। जिल्ला सभापति राजेश्वर खनालले पार्टीभित्रको आन्तरिक समस्याले कांग्रेसले ३ नम्बरमा क्षति व्यहोर्नुपरेको बताए। उमेदवारको टुङ्गो ढिलो लाग्नु र आन्तरिक समस्या समाधान गर्न नसक्नु नै पार्टीको कमजोरी रहेको उनी स्वीकार्छन्। ‘भरतपुरको ३ नम्बर वडाले पार्टीभित्र छलफलको ठूलो विषय बनेको छ। अब हामी यस विषयमा छिट्टै नै गहनरुपमा समीक्षा गरेर आन्तरिक समस्या समाधान गर्नेछौँ,’ उनले भने।
वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरे पनि लामिछानेले वडा अध्यक्षको टिकट आफैँले राख्नु नै सबैभन्दा ठूलो घात भएको कांग्रेसले महसुस गरेको छ, जसले गर्दा नेकपा एमालेका विकास थापासँग ६१७ मतको अन्तरले हार बेहोरेका छन्। थापाले १६६६ मत ल्याउँदा कांग्रेसका लामिछानेले जम्मा १०४९ मत मात्र प्राप्त गरे।
वडामा टिकट वितरण गर्दा ठूलो आर्थिक चलखेल गरेको समेत आरोप लागेका लामिछाने र यसअघिका वडाअध्यक्ष चन्द्रमित्र पण्डितका भाइसमेत रहेका तारमित्रबीच सतहमै देखिने गरी देखिएको विवादले पार्टीभित्र आन्तरिकरुपमा ठूलो खैलाबैला मच्चाइदिएको छ। कांग्रेसको तर्फबाट लामिछानेले आफैंलाई पार्टीको आधिकारिक उमेदवार बनाएपछि तारामित्रले पनि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराए।
तर विवाद समयमै सल्टाउन नसक्दा तारामित्रले स्वतन्त्रबाट गुलाफको फूल चुनाव चिन्ह पाए। पार्टीको आधिकारिक उमेदवार लामिछाने भए पनि बीचमा उनी पछि हटेर तारामित्रलाई गुलाफको फूल चिन्हमै समर्थन गर्ने पनि भनियो। तर पार्टीले पुनः लामिछानेलाई नै आधिकारिक उमेदवार बनाएर निर्णय पठाएपछिको प्रतिफल मतगणना सकिँदासम्ममा राम्रैसँग भोगेको छ कांग्रेसले।
यसअघि वडा नम्बर २ र १ मा समेत पाँच दलीय गठबन्धनको तर्फबाट उमेदवार बनेकाहरुले नै वडाको अध्यक्ष जितिरहँदा वडा नम्बर ३ को किचलोले गठबन्धनलाई नराम्रोसँग झापड हानेको छ भने त्यसको भरपुर फाइदा विपरीत दल अर्थात एमाले-राप्रपालाई पुगेको छ। तर विजय हासिल गरेको नेकपा एमालेले भने कांग्रेसभित्रको आन्तरिक किचलोका साथै पार्टीबाट राम्रो उमेदवार उठाइदिएका कारण आफ्नो पार्टीले जित हात पारेको बताउँदै आएको छ।


























