चितवन । वडा नम्बर ४ को मतगणना सकिँदै गर्दा भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिएको छ। गणना भइरहेका बेला चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गणना कार्यमा खटिएका कर्मचारीमाथि हस्तक्षेप गर्न खोजेपछि उत्पन्न विवादका कारण मतगणना कार्य रोकिएको हो।
मतगणनाका क्रममा मत सदर गर्ने या बदर गर्ने भन्ने विषयमा विवाद हुँदा प्रमुख जिल्ला अधिकारी तमाङले गणकमाथि बढी नबोल्न भनेर धम्क्याएपछि नेकपा माओवादीका प्रतिनिधिले गणकलाई बाहिर निकाल्न दबाब दिएको थियो।
तर नेकपा एमालेका प्रतिनिधिले गणकलाई काम गर्ने सहज वातावरण सिर्जना गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी नै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन्।
उक्त विवादका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने प्रतिकृया दिन चाहेन। प्रमुख जिल्ला अधिकारीले कर्मचारीमाथि गरेको दुर्व्यवहारबारे कार्यालयले केही नबोलेको हो। भरतपुरमा हालसम्म १६ हजार १३३ मत गणना भएको कार्यालयले जनाएको छ।