चितवन । स्थानीय तह निर्वाचन-२०७४ मा मतपत्र च्यातिएपछि नकारात्मक चर्चा कमाएको भरतपुरमा त्यो चर्चाको दाग अझै मेटाउन सकेको छैन। पाँच वर्षे कार्यकाल सकिँदा पनि उक्त घटनामा संलग्न नेकपा माओवादी केन्द्रलाई मतपत्र च्यातेर जितेको आरोप आज पनि उत्तिकै लाग्ने गरेको छ। त्यतिबेला नेकपा एमालेको तर्फबाट नेता देवी ज्ञवाली चुनावी मैदानमा थिए। अहिले देवीको स्थानमा नेता विजय सुवेदी आएका छन् भने पाँच दलीय गठबन्धनको तर्फबाट पुनः रेनु दाहाल दोहोरिएकी छन्।
त्यतिबेला नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले सघाएको थियो भने एमाले एक्लै चुनावी मैदानमा थियो। तर, यसपटक नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ पाएको छ, जसकारण मेयरमा एमाले र उपमेयरमा राप्रपाले आफ्नो उमेदवार उठाएको छ।
२०७४ सालमा पनि रेनु एक्लैले जितेकी भने होइनन्। त्यतिबेला पनि नेपाली कांग्रेसको साथ पाएरै उनले भरतपुरको मेयर पद सम्हाल्न पाएकी हुन्। यसपटक रेनुलाई अझ धेरै साथ मिलेको छ। जबकि नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले दलगतरुपमै समर्थन जनाएर पाँच दलीय गठबन्धन बनेको छ।
यसरी पाँच दल मिलेर चुनाव लड्दा पनि रेनु दाहालले दुई दल मिलेर चुनावमा होमिएका एमाले नेता विजय सुवेदीलाई छाड्न सकेकी छैनन्। दुवैबीचको प्रतिष्पर्धा रोमाञ्चकमात्र होइन, मुसो-बिरालाको खेलजस्तै रमाइलो बनेको छ। कहिले रेनु अगाडि त कहिले विजय अगाडि गरेर मतगणनालाई निकै कडा प्रतिष्पर्धात्मक बनाइरहेको छ। जसको मत अगाडि भए पनि त्यति धेरै अन्तर देखिँदैन।
यी दुवै उमेदवारबीच दुई मतले अघिपछिसमेत भइरहेका छन्। २९ वटा वडा रहेको महानगरमा बल्ल चार वटा वडाको नतिजा आएको छ। वडामा १, २ र ४ मा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेताले जित हासिल गरेका छन् भने वडा नम्बर ३ मा गठबन्धन दलले नै आफ्नै उमेदवार हराइदिएको छ।
मेयरमा भुइँकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि सानदार मत ल्याइरहेका छन्। पौडेलले भरतपुरको चार वडाको मत गणना सकिँदै गर्दा रेनु र विजयले ल्याएको मतको आधा हाराहारी मत ल्याएर तेस्रो स्थानबाट पछ्याइरहेका छन्।


























