चितवन । इच्छाकामना गाउँपालिकामा अहिले वडा नम्बर ३ को मतगणना जारी छ। वडा नम्बर ३ मा खसेको कुल मत एक हजार ८६८ मध्ये एक हजार ६०० मत गन्दासम्म पालिका अध्यक्षमा नेपाली कांग्रेसकी गीताकुमारी गुरुङ अगाडि देखिएकी छन्। पाँच दलीय गठबन्धनबाट कांग्रेसकी गीताकुमारी गुरुङले एक हजार ९७८ मत प्राप्त गर्दा नेकपा एमालेका दानबहादुर गुरुङले भने यसअघि गणना भएको वडा नम्बर १ र २ को मतसहित एक हजार ८९७ मत ल्याएका छन्।
उपाध्यक्षमा भने पनि नेकपा एमालेकी उमेदवार माया सिलवाललाई पछि पार्दै गठबन्धनको उमेदवार माओवादी केन्द्रका प्रताप गुरुङले फराकिलो मतअन्तरले अग्रता लिएका छन्। गुरुङले यसअघि दुवै वडाबाट प्राप्त मतसहित दुई हजार १०५ मत ल्याउँदा एमालेकी माया सिलवालले जम्मा एक हजार ७५७ मत ल्याएकी छन्।
३ नम्बरको वडा अध्यक्षमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेदवार अगाडि देखिएका छन्। माओवादीका उमेदवारले ७४७ मत ल्याउँदा एमालेका उमेदवारले ७२२ मत ल्याएका छन्। यस्तै राप्रपाका उमेदवार भने ११ मत ल्याएका छन्। यसअघि गणना सम्पन्न वडा नम्बर १ मा नेकपा माओवादी र वडा नम्बर २ मा नेकपा माओवादीले वडा अध्यक्ष पद जितेका छन्।



























