चितवन । २०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जम्मा एक जना मात्रै जनप्रतिनिधि पाएको थियो। माडी नगरपालिकाको वडा नम्बर १ का सदस्य अमितकुमार लामाले त्यतिबेला चुनाव चिन्ह गाई लिएर वडा सदस्य जितेका थिए। जिल्लामै राप्रपाको प्रतिनिधित्व गर्ने उनी एक्ला राप्रपा हुन्। तर स्थानीय तह निर्वाचन-२०७९ सम्म आइपुग्दा उनै अमितकुमार लामाले सोही वडामा वडा अध्यक्ष जितेका छन्।
यसअघि वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष थिए। तर यसपटक नेपाली कांग्रेसले वडा अध्यक्ष गुमाएको छ। वडा अध्यक्षमा निर्वाचित भएका लामाले २०७४ को निर्वाचनमा ६७० मत ल्याएर वडा सदस्य जितेका थिए। यसपटक वडाअध्यक्षमा भने उनले एक हजार ४३३ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन चौधरीले ९४३ मत पाए भने नेकपा एमालेका टिकाराम सुवेदीले जम्मा १२६ मत मात्रै प्राप्त गरे।
२०७४ को निर्वाचनमा वडा अध्यक्ष, महिला सदस्य र एक जना सदस्य पदन नेपाली कांग्रेसले जितेको थियो। दलित महिला सदस्य भने नेकपा माओवादीले जितेको थियो। तर, यसपटक एक जना सदस्यबाहेक सबै राप्रपाले जितेको छ। एक जना सदस्यमा भने नेपाली कांग्रेसले पद जोगाएको छ। माडीमा निकै कमजोर देखिएको नेपाली कांग्रेसले यसअघि पाएको वडा पनि गुमाएको छ। अन्य वडामा कस्तो नतिजा आउला, त्यो भने हेर्न बाँकी नै छ।


























