चितवन । स्थानीय तह निर्वाचन घोषणा भएदेखि चितवनको भरतपुर र काठमाडौं महानगरपालिका देशकै केन्द्र बन्यो। भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहालको पुनरागमन र काठमाडौंमा र्यापर बालेन्द्र शाह उर्फ बालेन। मतगणना सुरु भएपछि भने भरतपुरलाई समेत ओझेल पार्दै काठमाडौंका बालेन्द्र शाहले चर्चा कमाइरहेका छन्। हामीले यो समाचार सामग्री तयार पार्दासम्म लौरो चुनाव चिन्हबाट स्वतन्त्र उमेदवार बनेका बालेन्द्रले ९०७ मतको अग्रता लिइसकेका छन्। जति मतगणना बढ्दै गयो उनको मतान्तर पनि फराकिलो बन्दै गएको छ।
यतिबेलासम्ममा बालेन्द्र शाहले दुई हजार ७१ मत ल्याइसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी देखिएका नेकपा एमालेका केशव स्थापितले भने जम्मा एक हजार १६४ मत ल्याएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले जम्मा एक हजार ६ मत ल्याएकी छन्। महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।
कुन वडामा कति मत ल्याए बालेनले ?
वडा नम्बर १ मा बालेन शाहले ४४९, सिर्जना सिंहले २७७ र केशव स्थापितले जम्मा २०३ मत पाएका छन्। हालसम्मको मतगणनामा एमालेका केशव स्थापित दोस्रो नम्बरमा भए पनि वडा नम्बर १ उनलाई कांग्रेसकी सिर्जना सिंहले उछिनेकी छन्। बालेन शाहले पहिलो स्थान कब्जा गरिरहेका छन्।
वडा नम्बर ४ मा शाहले ४७१ मत पाउँदा स्थापितले २३९ मत पाएका छन् भने सिंहले २११ मत पाएका छन्। त्यस्तै वडा नम्बर ३२ मा भने शाहले ४८०, स्थापितले २६६ र सिंहले २२३ मत पाएका छन्। सुरुवाती चरणदेखि नै बालेनको लौरोलाई पछ्याइरहेका केशव र सिर्जनाले अझै पनि त्यही लौरो पछ्याइरहेका छन्।


























