चितवन । स्थानीय तह निर्वाचन-२०७४ मा भरतपुर महानगरपालिकामा एउटा ऐतिहासिक घटना घट्यो। भरतपुर-१० स्थित कवर्ड हलमा भइरहेको मतगणनामा अचानक नेकपा माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि देशैभर चर्चाको विषय बन्यो। वडा नम्बर १९ को मत गन्दै गर्दा मतपत्र च्यातिएपछि उक्त वडामा पुनः मतदान भयो। १९ नम्बर वडामा कुल खसेको २८९७ मतमध्ये १८०९ मत गणना भइसकेपछि नेकपा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेका हुन्।
त्यतिबेला पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर माओवादीकी नेता रेनु दाहाललाई साझा उमेदवार बनाएको थियो भने नेकपा एमालेले देवी ज्ञवालीलाई मेयरको उमेदवार बनाएको थियो। मतपत्र च्यातेपछिको पुनःनिर्वाचनबाट भने माओवादी केन्द्रकी रेनु दाहालले झिनो मतान्तरले जित हासिल गरिन्। तर मतपत्र च्यातेरै जितेको आरोप उनले मात्रै होइन नेकपा माओवादी केन्द्रले नै खेप्दै आइरहेका छन्। त्यतिबेला मुकदर्शक बनेको नेपाली कांग्रेसलाई पनि यसको दाग भने नलागेको होइन।
२०७४ सालको यही घटनाले अहिले पनि यस्तै प्रकृतिको घटना हुन सक्ने डर कायमै रह्यो, जसकारण देशका अधिकांश मतगणनास्थलमा फलामे तारजालीले रेखबार गरेर मतगणना गरिरहेका छन् गणकहरु। अघिल्लो निर्वाचनका बेला मतपत्र त्यातेकै कारण झिनो मतान्तरले पराजित भएका भरतपुरका मेयर उमेदवार एवम् नेकपा एमालेका नेता देवी ज्ञवालीले नेकपा माओवादी केन्द्रकै कार्यशैलीले गर्दा मतगणना गर्नेलाई बिना गल्ती जेलभित्र राख्न बाध्य भएको बताए। ‘विगतमा मान्छेले मान्छेको व्यवहार नगरिदिँदा अहिले मत गन्ने कर्मचारीलाई कैदीलाई जस्तो गरेर जेल हाल्नुपरेको छ,’ उनी भन्छन्, ‘यो दुःखद मात्रै होइन। अत्यन्तै लज्जास्पद कुरा हो।’
रेनु दाहाल अहिले पनि पनि पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदकी साझा उमेदवार हुन्। उनी भने २०७४ मा ठूलो दुर्घटना भएको बताउँछिन्। त्यतिबेला नहुनुपर्ने घटना भएको उनको भनाइ छ। तर मतपत्र च्यातेपछि पक्राउ परेका दुवैजना कार्यकर्ता तत्काल जनही १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। जतिबेला स्वयम् रेनु दाहाललगायतका माओवादीका नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालयमा फूलमाला लगाएर स्वागत गर्न पुगेका थिए।
नेकपा माओवादीले गरेको त्यही व्यवहारका कारण अहिले पनि नेकपा एमालेलगायत गठबन्धनभन्दा बाहिरका दलले आशंका व्यक्त गरिरहेका छन्। पाँच दलले रेनु दाहाललाई नै साझा उमेदवार बनाएको हुँदा उनीहरुलाई केही फरक नपर्ने एमालेका नेताहरु बताउँछन्। अहिले चितवनका सबै मतगणनास्थलमा फलामे तारजालीभित्र बसेर मतगणना गरिरहेका छन्। २०७४ को जेठ १४ गते राति करिब पौने १२ बजेको समयमा उक्त घटना भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो।


























