काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले बढाएको हो।
जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः रु १७० र १५३/१५३ कायम गरिएको छ। एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ। निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ।
हवाइ इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ। निगमलाई १५ दिनमा करिब रु पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

Facebook Comments


























