दाङ । उमेदवारको निधन भएपछि दाङमा नयाँ निर्वाचन कार्यतालिका तोकेको छ। तुलसीपुर उप-महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष उमेदवार लवरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। चौधरी नेकपा एमालेबाट उमेदवार बनेको हुँदा नयाँ निर्वाचन तालिकाअनुसार एमालेका लागि मात्रै बुधबार बिहान दस बजेदेखि एक बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उप-महानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।
बिहीबार बेलुकी पाँच बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने उनले बताए। नयाँ उमेदवारले वैशाख ३१ गते मध्यरातिसम्म चुनावी प्रचारप्रसार गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ। ‘तुलसीपुर–१७ को हकमा वैशाख ३१ गते मध्य रातिसम्म प्रचारप्रसार गर्न पाइने छ र त्यसपछि मौन अवधि सुरू हुने छ,’ अर्यालले भने, ‘जेठ ३ गते मतदानको समय तोकिएको छ।’ उनका अनुसार नेकपा एमाले उमेदवारको मृत्यु भएको हुँदा एमालेको हकमा मात्रै यो नियम लागू हुनेछ।
मुटुसम्बन्धी समस्याका कारण उपचारका क्रममा काठमाडौंमा निधन भएका वडाध्यक्ष उमेदवार चौधरी शिक्षण पेसामा आबद्ध थिए। उनको निधन भएपछि उनकै कान्छो छोरा प्रदीप चौधरीलाई नयाँ उमेदवार बनाउने तयारी गरेकाे नेकपा एमाले स्रोतले जनाएको छ।


























