चितवन । आइतबार सांँझ करिब साँढे ७ बजे नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको पाशविक र निर्मम हत्याप्रति नेपाली कांग्रेस वागमती प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वागमती प्रदेशका सभापति ईन्द्र बानियाँद्वारा सोमबार जारी विज्ञप्तिमा नेपाली कांग्रेस र गठबन्धनलाई कमजोर बनाउन आपराधिक क्रियाकलाप गराएको भन्दै निन्दा गरिएको छ।
‘स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा जुझारू सदस्यको हत्या हुनु लोकतन्त्र, आवधिक निर्वाचन र वाक स्वतन्त्रताको प्रहारमात्र नभई वर्तमान गठबन्धनविरूद्ध समेत भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ। परियारको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडाभन्दा कडा कारवाहीकोे माग गरिएको छ। यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई पनि विज्ञप्तिमार्फत सचेत गराइएको छ।
स्थानीय तह निर्वाचनलाई निर्वाध र निस्पक्ष ढंगले सञ्चालन गर्दै भयरहित वातावरण बनाउन सबै पक्षसंँग अपिलसमेत गरेको छ। प्रहरीले भने घटनामा संलग्न व्यक्तिको पहिचना भएको बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार घटना भएलगत्तै हत्यासम्बन्धमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र बागमती प्रदेशबाट विशेष टोली चितवन आइसकेको छ।
हत्यामा भारत घर भएका अजय सिंहको संलग्नता रहेको चितवन प्रहरीले जनाएको छ। अहिले सोही परितयको आधारमा हत्याराको खोजीकार्य चलिरहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए। तर, आरोपितको अवस्था अहिलेसम्म अज्ञात छ।
घटना राजनैतिक होइन : प्रहरी
चितवन प्रहरीले भरतपुर १२ निवासी अनिल परियारको हत्या घटना राजनैतिक विषय नभएको बताएको छ। निर्वाचनको मुखमा प्रहरी प्रशासन निर्वाचन केन्द्रित हुने मौका छोपेर घटना गराएको प्रहरीको भनाइ छ। भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदाननजिकै आइतबार साँझ करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारको हत्या गरेका हुन्। घटनास्थलमा गोलीका दुईवटा खोकासमेत फेला परेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नलाई तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताले सोमबार बिहानैदेखि भरतपुरमा प्रदर्शन गरेका थिए।


























