पाल्पा । स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन्। यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उमेदवार बनेका हुन्। नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उमेदवार बनेका छन्।
एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उमेदवार बनेका छन्। बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उमेदवारी दिएका छन्। आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा छन्। माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिनियर अहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे उमेदवार बनेका हुन्।
राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए। लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन्। पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजिनामा दिएर एमालेबाट वडाध्यक्षमा उमेदवार बनेका छन्। रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षको उमेदवार बनेका छन्।


























