चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई जनताको मनबाट निकाल्ने तागत कसैसँग पनि नभएको बताएका छन्। मंगलबार रत्ननगर नगरपालिका वडा नम्बर ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले भने, ‘परमादेश जारी गरेर गठबन्धनले सरकारबाट निकाले पनि जनताको मनबाट निकाल्न कसैको तागत छैन।’
चुनावमा एक्लै-एक्लै लड्ने आँट नभएर पाँच वटा दल गठबन्धन गरेर एमालेको विरुद्ध मोर्चाबन्दी गरेको उनले आरोप लगाए। ‘२०७४ सालमा पनि गठबन्धनको विरुद्ध प्रतिस्पर्धा गरेर शानदार सफलता प्राप्त गरेका थियौँ’, उनले भने, ‘हामीले गठबन्धनको पहिले नै सामना गरेका हौँ, अहिले पनि सामना गरेर शानदार विजय हासिल गर्छौँ।’
गठबन्धन पहिले नै असफल सावित भइसकेको हतियार भएको भन्दै ज्ञवालीले गठबन्धन जतिसुकै कसिलो बनाए पनि जनताको विश्वास एमालेसँग रहेकोले एमालेलाई कसैले परास्त गर्न नसक्ने बताए। तर पाँच दलीय गठबन्धनविरुद्ध खनिएको एमालेले पनि राप्रपासँग गठबन्धन गरेर चुनाव लड्दैछ।


























