चितवन। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ। ती नदीकिनारमा भेटिएका १६ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो। निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुँड र नारायणीका छ गुँडबाट अण्डा सङ्कलन गरिएको हो।
ती दुई नदीमा भेटिएकामध्ये आठवटा गुँडका अण्डा ल्याइएको छैन। ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो। ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए। विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन्। त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन्। त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिए।
प्रजनन् केन्द्रमा भाले बूढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ। प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन्। पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँचवटा भाले गोही देखिएका छन्। नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो।
राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ। हालसम्म राप्ती, नारायणी, कोशी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ। रासस


























