चितवन । सुमित श्रेष्ठ एक्लैले पाँच गोल गरेपछि भरतपुरमा जारी पाँचौ स्वर्गीय गणेशबहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलमा एफसी भरतपुर २९ जुगेडीले सानदार जीत हात पारेको छ। सोमबार भएको पहिलो खेलमा जुगेडीले देवचुली-११ नवलपुरलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको हो। एकतर्फी खेलमा जुगेडीलाई जिताउन सुमितको पाँच गोलसँगै रञ्जन पुनले २ तथा लक्ष्मण गुरुङले एक गोल गरे। देवचुलीका दिपीन रानाले एक गोल फर्काए।
जुगेडीले देवचुलीको पोष्टमा पहिलो हाफमै चार गोल गरिसकेको थियो। पहिलो हाफको २३औं मिनेटमा सुमितले गोल गर्दै जुगेडीलाई सुरुवाती अग्रता दिलाए। २८औं मिनेटमा रञ्जनले जुगेडीको अग्रता दोब्बर बनाए। लगत्तै ३०औं मिनेटमा रञ्जनले व्यक्तिगत दोस्रो गोल गरेपछि जुगेडीले ३-० को अग्रता लियो। ३३औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा जुगेडीले ४-० को अग्रता लियो।
दोस्रो हाफमा जुगेडीले चार गोल थप्यो। दोस्रो हाफको १५औं मिनेटमा सुमितले ह्याट्रिक पुरा गरे। २०औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरेपछि जुगेडीले ६-० को अग्रता लियो। २७औं मिनेटमा लक्ष्मणले गोल गर्दै जुगेडीलाई फराकिलो जिततर्फ डोहोर्याए। २९औं मिनेटमा दिपीनले देवचुलीका लागि एक गोल फर्काए। ३०औं मिनेटमा सुमितले व्यक्तिगत पाँचौ गोल गरेपछि जुगेडी ८-१ ले विजयी भयो। सुमित नै म्यान अफ दी म्याच भए।
यस्तै नारायणी मोटर्स युनिक क्लब बसेनी ‘बी’ र नयाँ बस्ती फुटबल ट्रेनिङ सेन्टरबीचको सोमबारको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको छ। पहिलो हाफ सकिएको अवस्थामा हावाहुरीसहितको भीषण वर्षाका कारण खेल स्थगित गरिएको आयोजक युनिक क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए।
सोमबार नै अन्य दुई खेल पनि हुनेछ। दिउँसो २ बजे एफसी नौरङ्गे र युनिक क्लब ‘ए’ तथा दिउँसो ४ बजे नारायणी एफसी र एफसी भरतपुर ९ भिड्नेछन्। युनिक क्लब बसेनीको आयोजनामा भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको बिजेताले एक लाख २० हजार तथा उपबिजेताले ६० हजार प्राप्त गर्नेछन्।
सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राइकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल २४ गते हुनेछ।


























