काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि उमेदवारहरुको मनोनयन, दावीविरोध, छानविन र अन्तिम मतदाता नामावली प्रकाशन भइसकेपछि मात्रै मतपत्र छाप्दा उमेदवारी नदिएका दलको चुनाव चिह्न मतपत्रमा नरहने भनेको थियो। तर अहिले सबैजसो दलको निर्वाचन चिह्न मतपत्रमा रहने निर्णय गरेको छ, जसकारण कुनै दलले उमेदवारी नदिए पनि निर्वाचन चिह्न भने मतपत्रमा लहरै रहने भएको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीले उमेदवारी दिएको छैन, तर उसको कलम चिह्न भने मेयरको लहरमा रहनेछ। चितवनको भरतपुरमा मेयरमा उमेदवारी नदिए पनि नेपाली कांग्रेसको रुख चिह्न भने मेयरको लहरबाट हट्ने छैन। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार उमेदवारी नदिने दलको चिह्न नराखेर मतपत्र व्यवस्थापन गर्नकै लागि अन्तिम नामावली प्रकाशनसम्मको मिति कुरेको बताए।
प्रवक्ता पौडेलले कुनै दलको चिह्न नै नराख्ने अवस्था हुन त्यो स्थानीय तहमा सम्बन्धित दलले कुनै पनि पदमा उमेदवारी नदिएको हुनुपर्ने बताए। महानगरको कुनै पनि पदमा उमेदवारी नदिने दलको हकमा भने चिह्न नराखिने स्पष्ट पारे।
मत खेर जाने चिन्ता
उमेदवारी पनि नदिएको मतपत्रमा दलको चिह्न हुँदा गठबन्धन गरेका दलहरुको मत खेर जाने सम्भावना हुन्छ। अघिल्लो निर्वाचनमा भरतपुरको मेयर पदमा रुख चिह्नसमेत थियो, जबकि कांग्रेसले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेको थियो। त्यतिबेला रुखमा करिब ७ हजार मत खसेर बदर भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन्।
एमालेलाई फाइदा
एमालेले अहिले पनि त्यही व्यवस्था लागू गराउन खोजेको छ। त्यसको अर्थ हो, गठबन्धन गर्दा उमेदवारी नदिएर तालमेल गरेका दलहरुको पनि चिह्न मतपत्रमा रहन्छन् र कतिपय मतदाता झुक्किएर त्यसरी मत विभाजित हुन्छ र गठबन्धनको मतमा असर पर्छ। त्यसैले निर्वाचनको बीचमा नियम फेर्न नहुने भनी उसले विज्ञप्ति नै निकालेर आपत्ति जनाएको थियो। यो मामिलामा सत्तारुढ गठबन्धनका दलहरु भने मौन छन्।


























