चितवन । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ। मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन्। यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन्। पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ। स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो।
जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताउँछन्। बैंक तथा वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाइ छ। होटल रेष्टुराँमा ग्राहक थपिएका दुवाडी बताउँछन्।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए। बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको उनी बताउँछन्। होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ छ। निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसले लाभ पुग्ने उनी बताउँछन्।
देशभरबाट हेरिएको निर्वाचन भएकाले भरतपुरमा चुनावी चहलपहल बढी हुने अनुमान छ। रेष्टुराँ एण्ड बार एशोसिएशन चितवनका अध्यक्ष अच्युत भट्टले साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए। गाउँगाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल वढेको छ। ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्ने अनुमान उनले गरे।
एशोसिएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताइन्। सुनसानजस्तै भएकोमा क्रमशः मानिसको चहलपहल बढ्न थालेको उनी बताउँछिन्।

कुखुराजन्य उत्पादनको माग बढ्दै
बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ। मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन्।
पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ। बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो। अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा छ। बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन्। अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट रु ३३० मा बिक्री हुँदै आएको अण्डा आजदेखि रु ३८० मा बिक्री हुन थालेको बताए।
अण्डा दिए पछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो रु ११० बाट रु १५० पुगेको छ। बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन्। बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो। माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन्। – रासस


























