चितवन ३० चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा भरतपुर महानगरपालिका सर्बत्र चासोको विषय बनेको छ। यसअघि पनि कांग्रेसले माओवादीलाई मतदान गर्नु र यसपटक पनि माओवादीलाई नै मेयर पद छाड्ने केन्द्रीय समितिको निर्णय बाहिरिएपछि यहाँको राजनैतिक माहोल झनै तातिएको छ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालसहित केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेतासँग भेट गरेर फर्किए पनि केन्द्रीय समितिले माओवादीलाई नै मेयर पदमा छाड्ने निर्णय भएको समाचार बाहिरिएसँगै कांग्रेस चितवनमा फेरि अर्को तरंग पैदा भएको छ।
मंगलबार मात्रै महानगरपालिकाभित्रका २९ वटै वडा सभापतिहरुले जिल्ला सभापति खनाललाई भरतपुरमा मेयर पद नछाड्ने भन्दै ध्यानाकर्षण पत्र बुझाए। यदि केन्द्रीय समितिले मेयर पद कांग्रेसलाई नराखे सबै वडाका सदस्यदेखि महानगरको मेयरसम्मका सबै पदमा स्वतन्त्र उमेदवार बनाउने चेतावनीसमेत दिएका छन्।
कांग्रेसभित्र यति धेरै उथलपुथल भइरहँदा माओवादी भने चुपचाप बसिरहेको छ। माओवादीमा रेनु दाहालको विकल्पमा कुनै उमेदवार नदेखिएकाले पनि नबोली बसेको स्रोत बताउँछ। उता नेकपा एमालेले भने पार्टीमा प्रभावशाली छवि बनाएका नेता विजय सुवेदीलाई मेयरमा उठाउने निर्णय नै गरिसकेको छ।
गठबन्धन दलले भरतपुर महानगरमा माओवादीलाई नै मेयर पद छाड्ने हो भने कांग्रेस चितवनले सहयोग गर्न नसक्ने अडान भने कायमै राखिरहेको छ। यो अवस्थामा केन्द्रीय सरकारमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको देशकै ठूलो दल नेकपा एमालेबाट वागमती प्रदेश सभा सदस्यसमेत रहेका नेता सुवेदीलाई उठाउँदै गर्दा मेयरमा एमालेको जीत सहजै अनुमान लगाएका पनि छन्।
कांग्रेस चितवनले अघिल्लो निर्वाचनमा स्थानीय तह माओवादीसँग तालमेल गरेको थियो। त्यतिबेला माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन कम्तिमा पनि १० वर्ष धकेलिने बताएका थिए। तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुनुपूर्व नै कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गरेपछि चितवनका कांग्रेसीहरुले माओवादीबाट नराम्रैसँग धोका पाए।
त्यसैको आधारमा पनि भरतपुरमा यसपटक कांग्रेसले माओवादीलाई सघाउन नसक्ने बताउँदै आएको छ। कांग्रेसको यो अडान कायमै रहिरहने हो भने नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा पुनः आफ्नो पार्टीको उपस्थिति देखाउन भने चुनौति देखिएको छ। कांग्रेस चितवनका सभापति खनालले पनि पार्टीको जिल्ला समितिले गरेको निर्णयमा नै अडान राखिराखेको बताए।
मंगलबार वडा सभापतिहरुले ध्यानाकर्षण गराएपछि झनै आफ्नो अडानमा जिल्ला समिति पनि बलियो बनेको उनले बताए। भरतपुर महानगरमा मेयर पदका लागि नेपाली कांग्रेसबाट २६ जना र उपमेयरमा २४ जनाको नाम दर्ता भएका छन्। नेकपा एमालेबाट विजय सुवेदीलाई सर्वसम्मत मेयर बनाउने निर्णय भइसकेको छ भने माओवादीबाट बाहिर रेनु दाहालको चर्चा चले पनि आधिकारिक उमेदवार भने तोकिइसकेको छैन।


























