चितवन २५ चैत । तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। भरतपुरको सिएमटी रिसोर्टमा महाधिवेशन हुने शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। महाधिवेशनमा सहभागी हुन देशरभका ६५ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने परिषदका अध्यक्ष रेशम गुरूङले जानकारी दिए। ‘तमूवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यही चैत २८ र २९ गते महाधिवेशन हुन लागेको उनले बताए। उनका अनुसार आजभन्दा १४ वर्षअघि पहिलोपटक एकता महाधिवेशन पनि चितवनमै भएको थियो।
देशको भूगोललाई हेरेर फेरि पनि चितवनलाई नै महाधिवेशनस्थलको रुपमा छनौट गरिएको उनले बताए। यो महाधिवेशनबाट संस्थाले हालसम्म भाषिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक एवं अन्य अधिकार प्राप्तिका लागि गरेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा अंगीकार गर्नुपर्ने नीति तथा कार्यक्रमसमेत तय गर्ने उनको भनाइ छ। साथै वर्तमान गण्डकी प्रदेशलाई तमूवान प्रदेश घोषणा गर्न अल्पकालीन तथा दीर्घकालीन रणनीति तय गर्ने, संघमा एक प्रतिशतभन्दा धेरैले बोल्ने भाषा र गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्न ठोस नीति तथा कार्यक्रमका साथै रणनीति तय गर्नेछ।
यस्तै राज्यको सबै अंग र तहहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चित गराउन राज्यलाई दबाब दिने, संघीयतालाई संस्थागत गर्दै आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास गर्ने/गराउने, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न रणनीति तय गर्ने, आदिवासी जनजातिका आन्दोलनलाई विभेद र असमानता अन्त्यको आन्दोलनका रूपमा विकास गर्दै जातीय सहिष्णुता अझै मजबुत बनाउने, सुकदेव गुरूङ, सुपति गुरूङलाई राष्ट्रिय सहिद तथा झागल गुरूङ, वंशु गुरूङ र डा. हर्क गुरूङलाई राष्ट्रिय विभूति घोषणा गनेलगायतका विषयले पनि महत्त्व पाउने उनको भनाइ छ।
चैत २८ गते बिहान १०ः३० देखि १ बजेसम्ममा उद्घाटन सत्र सकिनेछ भने सोही दिन दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र हुनेछ। साँझ ८ बजेदेखि करिब डेढ घण्टा भने सांस्कतिक साँझ हुनेछ, जसमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन्। निर्वाचन प्रकृया भने सोही दिन साँझ ५ः३० बजेदेखि २९ गते बिहान ११ः३० बजेसम्म रहने आयोजक समितिले जनाएको छ। त्यसपछि भने संस्थाले कुल ७७ सदस्यीय नयाँ नेतृत्व पाउनेछ। देशभर ६५ जिल्लामा संगठन बिस्तार गर्न सफल ह्युल छोँज धीँले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङको उपस्थितिमा महाधिवेशन गर्न लागेको हो।
महाधिवेशन सम्पन्न गर्न व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला समिति चितवनका अध्यक्ष एवम् व्यवस्थापन समितिका संयोजक गणेशबहादुर गुरूङका अनुसार केन्द्रीय अध्यक्ष रेशम गुरूङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति र चितवन जिल्ला अध्यक्षको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन समिति गठन गरी तयारी गरिरहेको छ।


























