चितवन १५ चैत । भरतपुर महानगर कृषि प्रवर्द्वन शाखाले माटो परीक्षणका लागि महानगरमा ल्याउन किसानलाई आग्रह गरेको छ। महानगर परिसरमा घुम्ति माटो परीक्षण प्रयोगशालामार्फत निःशुल्क परीक्षण भइरहेकाले आफ्नो खेतबारीको माटो ल्याएर निःशुल्क परीक्षण गरी लाभ लिन आग्रह गरेको हो।
महानगरका कृषि तथा पशुपन्छी प्रवर्द्वन शाखाका प्रमुख तेजेन्द्र पौडेलले महानगरभित्रका सबै किसानले माटो परीक्षणका लागि ल्याउन सक्ने बताए। भोलि १६ गतेसम्म यहाँ परीक्षण हुने भएकाले लाभ लिन सबै किसानलाई आग्रह गरे। महानगरभित्रका सहकारीमार्फत आफूहरुले माटो संकलन गरी माटो परीक्षण भइरहेको उनको भनाइ छ।
साथै किसानले पनि माटो परीक्षणका लागि ल्याउन सक्ने उनले बताए। बागमती प्रदेशको माटो तथा मल परीक्षण प्रयोगशालाको घुम्ती ल्यावमार्फत माटो परीक्षण भएको हो। माटो परीक्षणपछि १७ गते रिपोर्ट सार्वजनिक हुने र रिपोर्टका आधारमा माटोलाई कुन चिजको कमी छ त्यही चिज किसानलाई सिफारिस हुने पौडेलको भनाइ छ। महानगरका किसानलाई यो ठूलो अवसर भएकाले बेलैमा लाभ लिन पौडेलले आग्रह गरे।


























