काठमाडौं, चैत्र ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी बैशाखमा हुने स्थानीय तहको चुनावमा ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिएका छन्।
शनिबार काठमाडौमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिएका हुन्।
उनले नेकपा एमाले चुनाबमा एक्लै सामना गर्नको लागि तयार भएको बताए। महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिए।
उनले भने,‘ चुनावसम्मै मिलेर जान्छौं एमालेलाई देखाइदिन्छौं। मिलेर आए हुन्छ। पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ। नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ। यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ। यो त एउटा कास्टिङ मात्रै हो।’
मनोनयको दिनदेखि नै सत्ता गठबन्धनको समय समाप्त हुने संकेत गरेको समेत दाबी गरे।
महासचिव पोखरेलले भने,‘बैशाख ११ गते स्थानीय तहको मनोनयको दिन देशैभरीका निर्वाचन केन्द्रमा उर्लेको भीड देख्नुहुनेछ। सिहंदरबारमा बसेर गठबन्धनको कुरा गरेर जनताको अभिमतलाई खण्डित गर्न खोज्नेहरुको समय समाप्त हुदैछ भनेर संकेत ११ गतेबाटै आरम्भ हुनेछ। ’
साथै उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको आरोप लगाए। उनले भने,‘ प्रचण्डले अहिले स्थानीय तहको चुनाब ६ महिना पछि सारेर बरु प्रतिनिधिसभाको चुनाव बैशाखमा गरों भनेर सत्ता गठबन्धनको बैठकमा भन्दै आएको मैले सुने।’
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पटक पटक हमला भएको पनि बताए।


























