फागुन २६ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। पछिल्ला केही दिनयता लगातार गिरावट भएको नेप्सेमा बिहीबार भने हरियाली छाएको छ।
बुधबार २५१४.५८ अंकमा बन्द भएको नेप्से बिहीबार २.०८ प्रतिशत (५२.२१ अंक) ले वृद्धि भएर २५६६.७९ अंका बन्द भएको छ। बिहीबार नेप्सेसँगै अन्य सबै उपसूचकमा हरियाली छाएको छ।
नेप्सेमा २ प्रतिशतले वृद्धि भए पनि बुधबारको तुलनामा केही सुधार देखिएको कारोबार रकममा ठूलो उत्साह भने देखिएन। आज बजारमा दुई अर्ब ७९ करोडको कारोबार हुँदा अपी पावरको साढे १६ करोड र नेपाल दूरसञ्चार कम्पनीको साढे १३ करोडको कारोबार भएको छ।
आज बजारमा कारोबार भएका मध्ये इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको ८.८९ प्रतिशतले बढेको छ।
माउन्टेन इनर्जीको सेयर मूल्य ३.०८ प्रतिशतले गिरावट हुँदा नेपाल दूरसञ्चार कम्पनीको २.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयर मूल्य १.८३ प्रतिशतले घटेको छ।


























