काठमाडौँ, फागुन ११ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका देउवाले त्यसको भोलिपल्ट सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका हुन् ।
भेटेका लागि देउवा आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा उनले संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन् । विपक्षमा मतदान गर्ने वा अनुपस्थित भएर असहमति प्रकट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।
सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा उभिने यसअघि नै निर्णय गरिसकेका छन् । गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेपछि हिजो बेलुका एमाले अध्यक्ष ओलीसँग भेटेर प्रधानमन्त्री देउवाले सहयोग मागेका थिए तर ओलीले पहिले आफूहरुको माग पूरा गर्न आग्रह गरेका थिए । एमालेले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।


























