बुटवल, फागुन ७ । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। राप्ती सोनार ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो।
केही समयअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो। बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए।
उनका अनुसार बाघले चलाउनेलाई करिब ५ सय मिटर जंगल भित्र लगेको थियो। गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो। सामुदायिक वन समुहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो।
दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५/३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए। बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरि मान्छे मारेको पुष्टि गरेको छ।


























