सर्लाही, फागुन २ । सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ। बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो।
आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए। शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन्।
आगो निभाए पनि साहको भने घटना स्थलमै ज्यान गएको थियो। आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए। साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए। मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए।
Facebook Comments


























