न्युयोर्क, माघ २८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहरुलाई तत्काल देश छोड्न आह्वान गरेका छन्। युक्रेन तनावलाई लिएर अमेरिका र रसियाबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन्।
युक्रेमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका छन्। ‘अमेरिकी नागरिकहरुले तत्काल युक्रेन छोड्नु पर्छ,’ एनबीसी न्युज समाचार संस्थालाई उनले भने, ‘हामीले विश्वकै टूलो सेनासँग डिल गरिरहेका छौं। यो निकै जटिल अवस्था हो।’
रसियाले युक्रेन अतिक्रमण गरे अमेरिकी नागरिकको उद्दारका लागि अमेरिकी सेना नपठाइने उनले बताएका छन्। युक्रेनमा ‘घटनाक्रम चाँडै उन्माद हुन सक्ने’ राष्ट्रपतिले बताए। ‘अमेरिका र रसियाले एक अर्कालाई गोली हान्न थालेको अवस्थामा त्यो विश्वयुद्ध हो। यसअघि हामीले देखेको भन्दा निकै भिन्न अवस्थामा छौ,’ उनले थपे।
रसियाले युक्रेनको सीमामा करिब एक लाख सेना परिचालन गरेको छ, जसलाई लिएर पश्चिमा देशहरुले आपत्ति जनाउँदै आएका छन्। तर, रसियाले युक्रेनमा आफ्नो आक्रमण योजना नभएको बताउँदै आएको छ।


























