चितवन, माघ २७ । विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ। फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन्।
सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीति र सरकारलाई दिइने सुझावका विषयमा छलफल गरिने छ। सङ्घले गोरक्षनाथ, गाई र गाँजाका विषयमा बहस उठाउँदै आएको छ। पूर्वीय दर्शनलाई नेपालले अँगाल्नुपर्छ भन्ने मान्यताका साथ सङ्घले काम गर्ने उनको भनाइ छ। गोरक्षनाथ राजनीतिक दर्शन हो भने गाई स्वास्थ्य विज्ञानसँग समेत जोडिएको शाहले बताए।
देशभरमा ४५ जिल्लामा सङ्घको शाखा छ। विश्वमा २५ देशमा शाखा रहेको शाहले जानकारी दिए। सङ्घका जिल्ला अध्यक्ष श्याम पौडेलले पहिलो सम्मेलन हुन लागेको भन्दै तयारीमा जुटेको बताए। सहभागीलाई देवघाटका आश्रमहरूमा बस्ने व्यवस्थापन गरिएको छ। उनले भने, “हामी रु १० लाखभित्र सम्मेलन सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौँ”, सङ्घ विश्व हिन्दू महासङ्घअन्तर्गत युवाहरुको संस्था हो। रासस


























