माघ २४ । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ। ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो।
कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाका विरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन्।
ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी शहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका छन्।
आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउने लगायतका क्रियाकलाप गरेर शहरबासीलाई आजित बनाएको उनले दाबी गरे।
चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरबासीलाई समस्या भएको छ। साथै आपतकालीन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ।
वाट्सनले संकटकालको नियम नमान्ने र शहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन्। एजेन्सी


























