माघ २४ । भारतीय अभिनेता अक्षय कुमार उत्तराखण्ड राज्यका ब्राण्ड एम्बेसडर बनेका छन्। उनलाई आज सोमबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री धामीले ट्विट गर्दै लेखेका छन्, ‘आज प्रख्यात अभिनेता, युवाहरूका प्रेरणास्रोत अनि मेरा मित्र श्री अक्षयकुमारजीलाई मुख्यमन्त्री आवासमा स्वागत एवं अभिनन्दन गरिएको छ। अक्षय कुमारले राज्यका युवाहरूलाई प्रेरित गर्नका लागि सरकारद्वारा उठाइएका कदमको सराहना गरे र हर सम्भव सहयोग गर्न आश्वासन दिए।’
समाचार एजेन्सी एनएनआईका अनुसार पुष्कर सिंह धामीले भने, ‘हामीले अक्षयकुमारलाई एक प्रस्ताव गरेका थियौँ, उनले यसलाई स्वीकार गरेका छन्। उनी उत्तराखण्डका ब्राण्ड एम्बेस्डरको रूपमा पनि काम गर्नेछन्।’
अक्षय कुमार अहिले उत्तराखण्डको मसुरीमा फिल्म सुटिङ गरिरहेका छन्। सन् १९८७ मा महेश भाटले निर्देशन गरेको चलचित्र आजबाट अक्षय कुमारले बलिउडमा डेब्यू गरेका थिए।
१९९२ मा रिलिज भएको चलचित्र खिलाडीबाट चर्चामा आएका अक्षयकुमारले १२० भन्दा धेरै चलिचत्रमा काम गरिसकेका छन्।


























