माघ २२ । बलिउड अभिनेता सलमान खान र आयुष शर्मा एकसाथ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’मा देखिएका थिए। यो फिल्म गतवर्षको २६ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाए पनि कलेक्सन भने औषत थियो। थिएटरमा रिलिजको करिब एक महिनापछि २४ डिसेम्बरमा यसलाई ओटीटी प्लेटफर्म जी५मा स्ट्रिम गरियो। फिल्मले ओटीटी प्लेटर्फममा पनि उत्तिकै राम्रो प्रतिक्रिया पाएको छ।
फिल्मले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ। यो फिल्म जी५मा बिना रोकावट र विना कुनै ग्याप लगातार ३७ करोड मिनेटसम्म स्ट्रिम भएको छ। यो आफैंमा एक दमदार रेकर्ड हो। पछिल्लो केही समययता ओटीटीमा रिलिज भएका फिल्मले यस्तो रेकर्ड बनाएका थिएनन्।
अक्षय कुमार, सारा अली खान र धनुषको फिल्म ‘अतरंगी रे’ले पनि पहिलो दिन डिज्नी प्लस हटस्टारमा सबैभन्दा बढी स्ट्रिम हुने रेकर्ड बनाएको थियो। तर, यो रिलिजको २४ घण्टाको रेकर्ड थियो।
यसैगरी कार्तिक आर्यनको ‘धमाका’लाई नेटप्mिलक्समा स्ट्रिम गरिएको थियो। दर्शकले यो फिल्मलाई निकै मन पराएका थिए। तर, कसैले पनि सलमानको फिल्म जस्तो रेकर्ड कायम गर्न सकेनन्।
फिल्म ‘अन्तिम’मा अभिनेता महेश माञ्जरेकरको निर्देशन छ। यो फिल्म सन् २०१८ मा रिलिज मराठी फिल्म ‘मुल्सी पेटर्न’को रिमेक हो। यसमा किसानको छोरालाई ग्याङस्टार बनेको देखाइएको छ। फिल्ममा सलमानले इमानदार प्रहरी र आयुषले ग्याङस्टारको भूमिका निर्वाह गरेका छन्।


























