काठमाडौं, माघ १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग आज दिउँसो बालुवाटारमा छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल गर्ने बताइएको छ। आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ। तर, सत्ता गठबन्धनले भने २०७४ असोज २ गते तेस्रो चरणमा भएका स्थानीय तहको निर्वाचनलाई आधार मानेर ६ महिनासम्म धकेल्न खोजिरहेको छ।
निर्वाचन आयोगले स्थानिय निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला सत्ता गठबन्धन भने मिति तोक्न होइन, निर्वाचन सार्ने तयारीमा लागेका छन्। यसअघि पनि प्रधानमन्त्री लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुले स्थानिय निर्वाचनबारे कानुनी जटिलताका विषयमा कानुनविदहरुसँथ छलफल गरेका थिए। छलफलमा उनीहरुले बाझिएको कानुन संशोधन गरेर मात्र स्थानिय निर्वाचन गर्न गठबन्धनलाई सुझाएका छन्।


























