चितवन ११ माघ । आइतबार पुलचोक-गोन्द्राङ सडक निर्माणका क्रममा खनेको खाल्डोमा परेर एउटा वयस्क भाले गैँडा मरेपछि संरक्षणकर्मी, राजनैतिक दललगायतले ध्यानाकर्षण भएको जनाएको छ। विवेकशील साझा पार्टीले मंगलबार गैंडा मरेको घटनालाई लिएर भरतपुर महानगरपालिकाको मूल गेटमै विरोध प्रदर्शन गर्यो। हात्तीको गोबर लिएर ब्यानरसहित प्रदर्शन गरेका नेता कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गर्ने प्रयाससमेत गरेको थियो।
उता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहहरुले पनि संयुक्तरुपमा विज्ञप्ति जारी गरेर घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। उनीहरुले सडक डिभिजन कार्यालय भरतपुर र निर्माण कम्पनी नै यस घटनाको भागीदार रहेकोसमेत औँल्याएका छन्।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्प क्षेष्ठ, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष इश्वरीप्रसाद लामिछाने, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, देवीथान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कृष्ण चौधरी र मिलिजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमानसिंह चौधरीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाबारे छानविन गरी दोषीउपर कारवाही गर्न माग गरेका हुन्।
वन मन्त्रालयद्वारा कार्यदल गठन
गैंडा मरेको विषयमा चौतर्फी विरोध भएपछि मंगलबार वन तथा वातावरण मन्त्रालयले छानविन गर्न कार्यदल नै गठन गरेको छ। वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो। उक्त कार्यदललाई १० दिनभित्र घटनाको प्रतिवेदन बुझाउन मन्त्रालले निर्देशन दिइएको छ।


























