काठमाडौं, माघ ९ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ।
सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले बृद्धि भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा रु छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले रु ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो। निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ।
व्यापार घाटा चुलिँदै
चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर रु आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा रु छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो।
यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार रु ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार रु सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो।
१४१ देशबाट आयात
चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट सो अवधिमा रु छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ। भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ।
यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ रु ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ। रासस


























