चितवन २० पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल आज (मंगलबार) देखि सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा साविक बिजेता सौराहा युवा समाज सौराहा र नारायणी मोटर्स युनिक फुटबल क्लब बसेनी भिड्दैछन्। खेल भरतपुर ७ कृष्णपुरस्थित कृष्णपुर रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको लिग माघ ८ गतेसम्म चल्नेछ। लिगमा १३ टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साविक बिजेता सौराहा युवा समाजसहित माडी ११, केबीए ग्लोबल भरतपुर फुटबल क्लब, नारायणगढ फुटबल क्लब, वातासिनो गीतानगर ब्वाइज, नारायणी मोटर्स युनिक एफसी र पानस युवा क्लब छन्।
यस्तै समूह ‘बी’ मा एष्ट्रल युथ सोसाइटी, हार्दी युवा समाज, एभरेष्ट क्लब चितवन, नारायणी एफसी, रामपुर फुटबल क्लब र बगान यात्रा ग्रुप छन्। राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शीर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ। दुबै समूहबाट पुछारमा रहने एक-एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ।
लिग चरणका ३६, सेमिफाइनल र फाइनल गरि ३९ खेल हुनेछ। लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ। तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ। एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ।
हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच-पाँच हजार प्राप्त गर्ने संघका महासचिव रामहरि ढकालले जानकारी दिए।


























