राजविराज, पुस १८ । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ।
कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशङ्कर चौधरी रहेको छ। दुुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नं को मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नं मोटरसाइकल एक आपसमा ठोक्किँएको थियो। सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन्।
त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका–९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। रासस


























