काठमाडौं १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। बिहीबार तमू जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी मनाउँदै गरेको ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको बताए।
‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधताभित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्,’ सन्देशमा भनिएको छ, ‘यही सद्भाव र एकतालाई प्रवर्द्वन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो।’ प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षाेल्लाहपूर्वक मनाउन आग्रह गरेका छन्।


























