काठमाडौं १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन्। राष्ट्रपति भण्डारीले आज तमू ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन्।
‘मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्वन गर्दै पर्यटन प्रवर्द्वनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ,’ सन्देशमा भनिएको छ। राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरेकी छन्।
गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै ल्हाेसार पर्व मनाउँदै छन्। सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाउने गरिन्छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।


























