चितवन, पुस १४ । यही पुस २७ गते हुने नेपाली कांग्रेस चितवनको अधिवेशनको लागि जिल्ला सभापतिमा ६ जना नेताहरु चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरे, क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उमेदवारी घोषणा गरेर प्रचारप्रसार अभियानमा जुटेका छन्।
जिल्लामा पूर्व संस्थापन समूहको प्रभाव बढी छ। अधिकांश सभापतिका उम्मेदवार पूर्व संस्थापन निकट मानिन्छन्। जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन्। जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। उनका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ।
जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो। पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले बताए। जिल्ला समिति सभापतिसहित ५० जनाको हुने छ। तीन क्षेत्र रहेको चितवन देशमै सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला मध्येमा पर्छ। यसअघि अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुन सकेको थिएन।
यसै जिल्लाबाट नेपाली कांग्रेसको स्थापनापछि पहिलो पटक पाँच जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गरेका छन्। यसअघि जिल्लाबाट केन्द्रीय सदस्यमा कोही पनि निर्वाचित हुन सकेको थिएन। – रासस


























