काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं ऊजा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पार्टीको आठौं महाधिवेशन नेपाललाई समाजवादतर्फ उन्मुख कसरी गर्ने भन्नेमा केन्द्रित हुने बताएकी छन्।
आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले अधिवेशनको मुख्य एजेन्डा समाजवादतर्फ कसरी जान सकिन्छ भन्ने रहेको बताइन्।
उनले भनिन्, ‘नेपाली समाजलाई रुपान्तरण गरेर समाजवादतर्फ कसरी जान सकिन्छ भनेर विगत र वर्तमानबारे महाधिशेवशनमा समीक्षा गरिनेछ। र, महाधिवेशनको मुख्य केन्द्र यहीँ नै हो।’
सुरूमा राष्ट्रिय सम्मेलन भनिएपनि वडा, पालिका र प्रदेश सम्मेलनबाट प्रतिनिधि चयन भएपछि र यसबारे समग्र छलफल गर्दा महाधिवेशन गरिएको उनले बताइन्।
महान जनयुद्ध, विस्तृत शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीकै अग्रणी भूमिका रहेको पनि उनले बताइन्। जनयुद्ध हुन्छ भन्नेमा कसैलाई विश्वास नभए पनि वस्तुगत एजेन्डा भएकै कारण माओवादीले १० वर्षे जनयुद्धबाट महान उपलब्धि गरेको पनि मन्त्री भुसालले धारणा व्यक्त गरिन्।


























