मंसिर २२ । तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भारतीय रक्षा प्रमुख विपिन रावतलाई अस्पताल भर्ना गरिएको छ।
भारतीय सेनाको एमआई-१७भी५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो। यसमा भारतीय रक्षा प्रमुख जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। समाचार अनुसार अहिलेसम्म ११ शव भेटिएका छन्। ती शव अधिकांश जलेका छन्।
दुर्घटनाको करिब एक घण्टापछि जनरल रावतलाई वेलिङ्टनको सैनिक अस्पतालमा लगिएको छ। तर उनको अवस्था चिन्ताजनक छ। यसबारेमा भारतीय सेनाले कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन।
केही विवरणमा जनरल रावत गम्भीर रुपमा घाइते रहेको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाको जानकारी लिएका छन्। रक्षा मन्त्री राजनाथ सिंह दुर्घटनापछि तत्कालै संसद पुगेका छन्। त्यहाँबाट उनी कुन्नूर जाँदैछन्।
जनरल विपिन रावत भारतका पहिलो रक्षा प्रमुख हुन्। उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए। रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए। एजेन्सी


























