काठमाडौँ, मंसिर १९ । नेपाली कांग्रेसको ६ वटा प्रदेश मध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम नतिजा आएको छ। शनिबार सम्पन्न मतदानपछि भएको मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात पारेका छन्।
कर्णाली प्रदेशमा देउवा पक्षका सभापति उम्मेदवार ललित जंग शाही विजयी भएका छन्। उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्र जंग शाहीमाथि जित हात पारेका हुन्। शाहीले ४२२ मत ल्याउँदा भूपेन्द्रजंग शाहीले ३१७ मत पाएका थिए।
यस्तै गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन्। उनले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे।
यता वागमती प्रदेशमा भने तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत लयाउन नसकेपछि फेरि सबैभन्द बढी मत ल्याउने दुई जनाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ।
देउवा पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो। सिटौला पक्षका भिमसेनदास प्रधान भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
शनिबार मतदान भएका लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी छ। प्रदेश १ मा भने आइतबार मतगणना सुरु हुँदैछ। प्रदेश २ को अधिवेशन भने भएको छैन।


























