चितवन ०७ मंसिर । चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। अधिकारीले खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएका थिए। खुलातर्फ १० जनाको लागि अधिकारीसहित ३६ जनाले उम्मेदवारी दिँदा उनी पराजित भएका हुन्।
कुल खसेका ९४२ मतमध्ये अधिकारीले जम्मा २७२ मतमात्र प्राप्त गर्न सफल भए। अधिकारी पहिलो संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुन्। संविधानसभा सदस्य सावित्रीदेवी चौधरी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। समावेसी थारु महिला कोटाबाट उमेदवारी दिएकी चौधरीलाई चन्द्रकुमारी चौधरीले पराजित गरेकी हुन्।
क्षेत्र नम्बर २ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी बागमती प्रदेश सामानुपातिक सांसद् गीता वाग्ले पनि पराजित भएकी छन्। चितवन कांग्रेसमा जिल्ला सभापतिको उमेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा लागेका पूर्व सांसद जगन्नाथ पौडेल पनि महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि जिल्लाको नेतृत्वमा जाने बाटो टुङ्ग्याएका छन्।


























