चितवन मंसिर ७ । नेकपा एमालेको केन्द्रीय महाधिवेशन चितवनमा हुँदै गर्दा केही समय सहकर्मी बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एलर्जी भएको छ। एमालेले केन्द्रको महाधिवेशन चितवनमा गर्ने भनेर घोषणा गरेकै दिनदेखि प्रचण्डको चितवन आगमन पनि थप बाक्लिएको छ। एमालेले चितवनमा महाधिवेशन गर्दा प्रचण्डले आफूलाई चुनौति दिएको कुरा प्रस्टै बुझेका छन्।
एमालेको महाधिवेशन चितवनमा हुँदा आफू समस्यामा पर्ने बुझेपछि प्रचण्डले छोरी रेनु दाहालमार्फत ‘भरतपुरको विकास बहस’ शीर्षकमा कार्यक्रम गर्नसमेत भ्याए। एमालेको महाधिवेशन नसकिएसम्म चितवनमा केही न केही कार्यक्रम गरेर जनतालाई आफ्नो पक्षमा पारिरहने दाउमा उनी लागेका छन्, जसले गर्दा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री प्रेम आलेलगायतका नेता हालसालै चितवन आएर फर्किएका छन्।
एक हप्ताभित्रै पटकपटक विभिन्न बहानामा चितवन आइरहेका प्रचण्डले कहिले चितवनबाटै चुनाव लड्ने, कहिले एमालेको गढ भत्काउने जस्ता अभिव्यक्ति दिइरहेका छन्। उनको पछिल्लो समयको अभिव्यक्तिले पनि एमालेको महाधिवेशन प्रचण्डको लागि चुनौति नै सावित भएको प्रस्ट भएको छ।
तर नेकपा एमालेले भने चितवनमा पाँच लाख कार्यकर्ता उतार्ने दाबी गर्दै आएको छ।


























