म्याग्दी, मंसिर ५ । छ वर्षअघिको भूकम्पका कारण भत्किएका म्याग्दीका ७५५ निजी आवासको पुनःनिर्माण सकिएको छ।
विसं २०७२ को भूकम्पका कारण भत्किएका घर पुनःनिर्माणका लागि सम्झौता गरेका ७६.५७ प्रतिशत लाभग्राहीले अन्तिम तथा तेस्रो किस्ता अनुदान लगेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) एकाइ म्याग्दीले जनाएको छ।
आयोजनाका प्रमुख वीरबल सुनारले पहिलो किस्ता लगेका ९८६ मध्ये हालसम्म ७५५ जनाले निजी आवास पुनःनिर्माण सकेका जानकारी दिए। ‘एक हजार ६५ लाभग्राही पहिचान भएकामा ७९ जनाले सम्झौता नै गर्नुभएन’, उनले भने, ‘एक सय ८७ लाभग्राही अझसम्म दोस्रो किस्ता अनुदान लिन आउनुभएको छैन।’
यही मङ्सिरभित्र घर पुनःनिर्माण सकेर तेस्रो किस्ता अनुदान लिन नआउनेलाई लाभग्राहीको सूचीबाट हटाइने आयोजना प्रमुख सुनारले बताएका छन्। विसं २०७४ मङ्सिरदेखि म्याग्दीका हरेक स्थानीय तहमा प्राविधिक कर्मचारी खटाई घर पुनःनिर्माण सुरु गरिएको थियो। सम्झौतालगत्तै पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ। दोस्रो किस्ता लगेर तेस्रो किस्ता लिने प्रक्रियामा रहेकाको सङ्ख्या २४ जना छ। पहिलो किस्ता लगेर घर पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता लिनै नआएकालाई ताकेता गरिएको छ।
भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि अधिकतम थप रु दुई लाखका दरले उपलब्ध गराइएको छ। यसैगरी पिप्लेका एक जनाले पनि जग्गा खरिदका लागि अनुदान पाए।
बेनी नगरपालिका–४ सिङ्गाका दुई परिवारलाई जिल्ला सहजीकरण समितिको निर्णयानुसार सार्वजनिक जग्गामा घर निर्माण गरी बसोबास गराइएको छ। बयासी जना प्रवलीकरण लाभग्राही भएकामा ४० जना लाभग्राही पुनःनिर्माणमा परिवर्तन भई घर पुनःनिर्माण गरेका छन्।
प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। पोखरेबगर–पाउद्धार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुलको निर्माण २२ प्रतिशत काम सकिएको छ। पच्चीस मिटर लामो पुल निर्माणको काम ठेक्का सम्झौता भएको एक वर्षपछि गत फागुनदेखि सुरु भएको थियो। रासस


























