काठमाडौँ, मंसिर ४ । नेपालको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा परेको छ।
वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ। त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ। जुन घातक हो।
नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ।
यद्यपि, शनिबार बिहान साढे १० बजे काठमाडौंमा पिएम-२.५ को मात्रा प्रतिघन्टा १६५ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ। यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ।
वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाडौँ दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए। दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली, तेस्रोमा बंगलादेशको ढाका, चौथोमा भारतकै कोलकाता, पाचौँमा दक्षिण कोरियाको इनचोनलगायत छन्।
नेपालका यी शहर रेडजोनमा
नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ। विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ।
शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच शहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ।
पिएम २.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ।
धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ। ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन्।


























